असोज-२५ सिरहा।
सोनु मिश्र।
सिरहाको विष्णुपुर गाउँपालिका–१ मा जेन्जीका कार्यकर्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी (एपीएफ), नेपाल आर्मीका जवान र स्थानीय व्यापारीहरू मिलेर संयुक्त रूपमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।

शनिबार बिहान ७:०० बजेदेखि ९:०० बजेसम्म सञ्चालन गरिएको उक्त सरसफाई अभियानमा बजार क्षेत्रका सडक, पसल अगाडिका क्षेत्र र सार्वजनिक स्थलहरूमा सरसफाई गरिएको थियो।

प्रत्येक वर्ष कार्तिक १ गते भव्यताका साथ मनाइने विष्णु पूजाको तयारीस्वरूप बजारलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

कार्यक्रममा जेन्जीका अगुवा व्यक्ति उपेन्द्र यादव र सन्तोष यादवको नेतृत्वमा करिब सयजति सहभागीहरू सक्रिय रूपमा सहभागी भएका थिए। सहभागीहरूमा जेन्जीका कार्यकर्ता, सुरक्षाकर्मी र स्थानीय व्यापारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा सरसफाईसँगै स्थानीयहरूलाई सफा, स्वस्थ र व्यवस्थित बजार बनाउने सन्देश समेत दिइएको थियो। आयोजकहरूका अनुसार यस्ता सामुदायिक अभियानहरू नियमित रूपमा अगाडि बढाइने प्रतिबद्धता गरिएको थियो।






