+
+
0 Shares

सिरहाको खैरटोका भन्सार नजिक पोखरीको घाट निर्माणमा व्यापक अनियमितता २ नम्बर इँटा प्रयोग

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

श्रावण -७
सिरहा,स्टार खबर

सिरहा नगरपालिका १७ स्थित खैरटोकामा पोखरीमा घाट निर्माण भएको २ साता नबित्दै चिरा पर्न थालेको छ ।
नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा निर्माण भएको घाट २ साता पनि नबित्दै भत्किन लागेको हो । नगरपालिकाले गत आर्थिक वर्षमा उक्त पोखरीमा उपभोक्ता समिति मार्फत् ६५ मिटर लम्बाइको घाट निर्माणको काम गराएको थियो ।

महिना पनि नलाग्दै घाट भत्किन थालेपछि स्थानीयले कमसल काम भएकै कारण घाटमा चिरा पर्न थालेको आरोप लगाएका छन् । निर्माणका क्रममा २ नम्बर इँटा प्रयोग भइरहेको र कमसल सामाग्री प्रयोग भइरहेको भन्दै स्थानीयले विरोध जनाएपनि सरोकारबाला निकाय सुनेनन् ।

 ‘कमसल काम भइरहेको देखेर हामीले विरोध गर्यौं,’ स्थानीय नागमनी यादवले भने, ‘वडाध्यक्षले इँटा भट्टाले २ नम्बर इँटा पठाइदिएको र यो फिर्ता हुने बताएपनि त्यहि इँटा प्रयोग भयो ।’ स्थानीयहरुको विरोधका बाबजुद कमसल काम भएको उनले आरोप लगाए ।

घाट निर्माणको नाममा व्यापक अनियमितता भएको आरोप स्थानीयहरुको छ । तर, वडाध्यक्ष महेन्द्र यादव इस्टिमेट अनुसारकै काम भएको दावी गर्छन् । उनले सन्तोषजनक काम भएको र अनियमितता नभएको दावी गरे ।

यता, उपभोक्ता समितिका अध्यक्ष कपिलदेव यादव अवकाश प्राप्त शिक्षक हुन् । सरकारी सेवा सुविधा पाइरहेका व्यक्ति उपभोक्ता समितिमा बस्न नपाइने प्रावधान छ । तर, मापदण्ड विपरीत यादवलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको थियो ।

यस विषयमा सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले आफूलाई त्यति जानकारी नरहेको र यस विषयमा गएर बुझ्ने प्रतिक्रिया दिए ।