+
+
0 Shares

प्रशासनिक विवाद अन्त्य : डा. वर्षा प्रकाशले सम्हालिन् लहान अस्पतालको मेसु जिम्मेवारी

starkhabar Sonu Mishra
३ हप्ता अगाडि
670 views

वैशाख-२६, सिरहा।
स्टार खबर।

लामो समयदेखि विवाद र अन्योलमा रहेको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल मा अन्ततः नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) ले औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्।

सरकारको निर्णयअनुसार काजमा खटाइएकी डा. वर्षा प्रकाशले बिहीबार अस्पतालको मेसु पदको जिम्मेवारी सम्हालेकी हुन्। यससँगै अस्पतालमा लामो समयदेखि चल्दै आएको प्रशासनिक विवाद पनि अन्त्य भएको बताइएको छ।

सरकारले २२ वैशाख २०८२ मा डा. वर्षा प्रकाशलाई अस्पतालको मेसुका रूपमा काजमा खटाएको थियो। तर तत्कालीन मेसु डा. रञ्जित झाले पद नछाड्दा उनले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्न पाएकी थिइनन्।

अस्पताल स्रोतका अनुसार राजनीतिक पहुँच र प्रभावका कारण डा. झाले पदमा निरन्तरता दिँदै आएका थिए। त्यस अवधिमा डा. वर्षालाई मेसुको जिम्मेवारी नदिई बालरोग विशेषज्ञको रूपमा मात्रै काम गराइँदै आएको थियो।

सरकारले काजमा रहेका कर्मचारीहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि डा. रञ्जित झाले २१ वैशाखमा रमाना लिएर काठमाडौंस्थित वीर अस्पताल फर्किएका हुन्। त्यसपछि अस्पतालका कर्मचारीहरूले डा. वर्षालाई स्वागत गर्दै औपचारिक रूपमा मेसु पदभार ग्रहण गराएका थिए।
डा. वर्षाले पदभार ग्रहणसँगै अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र सेवामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

स्थानीयवासी तथा सेवाग्राहीहरूले पनि अब अस्पतालमा देखिएको प्रशासनिक अन्योल अन्त्य भई स्वास्थ्य सेवा सुधार हुने अपेक्षा गरेका छ्न।