+
+
0 Shares

सिरहा:शिक्षकको कुटाइबाट १३ वर्षिय विद्यार्थी गम्भीर घाइते, अस्पतालमा उपचार जारी

starkhabar mukesh9801061609
११ महिना अगाडि
1 views

बैशाख -२६ सिरहा।
राहुल राय

सिराहाको गोलबजार नगरपालिका–७ चोहर्वा स्थित एपेक्स विद्या मन्दिरमा कक्षा ८ मा अध्ययनरत १३ वर्षिय विद्यार्थी अविनास यादव शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका छन्। उनलाई बिहीबार कक्षा कोठामै थुनेर शिक्षक सन्तोष गुप्ताले बासको लठ्ठीले निर्घात कुटपिट गरेका हुन्।

गम्भीर अवस्थाका अविनासलाई उनका बुबा सुरेश कुमार यादवले उद्धार गरी तत्कालै गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गरेका छन्। अस्पताल स्रोतका अनुसार अविनासको अवस्था अहिले खतरामुक्त भए पनि स्वास्थ्य सामान्य हुन कम्तीमा एक साता लाग्नेछ।

होसमा आएपछि बालक अविनासले आफूमाथि शिक्षकले कोठामा थुनेर पटक–पटक लठ्ठी प्रहार गरेको बताएका छन्। अविनासको अनुहार, पिठ्यु र तिघ्रामा गहिरो चोट र नीलडाम देखिएको छ।

घटनापछि आक्रोशित अभिभावक सुरेश कुमार यादवले विद्यालय प्रशासन र दोषी शिक्षकलाई कडा कारवाहीको माग गरेका छन्। “मेरो बच्चा मर्नै लागेकाे अवस्थामा भेटेँ,” उनले भने, “यो अमानवीय घटनाको न्याय पाउनै पर्छ।”

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुखले शिक्षक सन्तोष गुप्तालाई नियन्त्रणमा लिइसकेको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले दोषीमाथि कानूनी कारवाही हुने बताएको छ।

स्थानीय तह र बालअधिकारकर्मीहरूले समेत घटनाको भर्त्सना गर्दै शिक्षालयभित्र यस्तो प्रकारको अमानवीय व्यवहार रोक्न तत्काल कडा कदम चाल्नुपर्ने माग गरेका छन्।