+
+
0 Shares

गोलबजार बर्धमान अस्पतालमा सुत्केरीको मृत्यु : लापरबाही आरोपमा सञ्चालक प्रहरी नियन्त्रणमा

starkhabar mukesh9801061609
११ महिना अगाडि
0 views

वैशाख २७, सिरहा।
ज्ञान राय।

सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा सुत्केरी महिलाको ज्यान गएपछि अस्पताल प्रशासनमाथि लापरबाहीको आरोप लागेको छ। मिर्चैया नगरपालिका–११, सीतापुरकी ३० वर्षीया रामकाशी यादवको शनिबार बिहान मृत्यु भएको हो।

शुक्रबार बिहान व्यथा लागेपछि परिवारजनले रामकाशीलाई अस्पताल पुर्‍याएका थिए। दिउँसो १२ बजे शल्यक्रिया गरेर छोराको जन्म दिइन तर शल्यक्रियापछि स्वास्थ्य अवस्था बिग्रँदै गएपछि परिवारले बारम्बार रिफर गरिदिन आग्रह गर्दा समेत अस्पताल प्रशासनले बेवास्ता गरेको मृतकका श्रीमान् सन्त यादवले बताएका छन्।

‘हामीले बारम्बार रिफर गर्न भनेका थियौं, उनीहरू ‘यहाँ ठीक हुन्छ’ भन्दै रोकिरहे,’ सन्त यादवले भने। शनिबार बिहान २ बजे मात्र रिफर गरिएको र विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए। बिहान साढे ५ बजे विराटनगरस्थित न्युरो अस्पताल पुगेपछि चिकित्सकले रामकाशीलाई मृत घोषणा गरेका थिए।

शल्यक्रियाको क्रममा अत्यधिक रगत बग्दा समेत उचित उपचार नगरेको र लापरबाहीका कारण ज्यान गएको भन्दै परिवारले आन्दोलन गरेपछि प्रहरीले बर्धमान अस्पतालका सञ्चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।