+
+
0 Shares

सिरहा:विष्णुपुर गाउँपालिकाको आन्तरिक आम्दानीको ९६% प्रशासनिक खर्चमै, पारदर्शितामाथि प्रश्न

starkhabar mukesh9801061609
११ महिना अगाडि
2 views

जेष्ठ -१० सिरहा।
स्टार खबर।

सिरहाको विष्णुपुर गाउँपालिकाले आन्तरिक आम्दानीको झण्डै ९६ प्रतिशत रकम प्रशासनिक तथा विविध शीर्षकमा खर्च गरेको खुलासा भएको छ। आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले आन्तरिक स्रोतबाट उठेको कुल रू. ३९ लाख ४० हजार ३१९ मध्ये रू. ३७ लाख ९१ हजार खाना, खाजा, चिया, पानी र कार्यक्रम सञ्चालन लगायत शीर्षकमा खर्च गरिएको पाइएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ अनुसार खर्च गर्दा सोको औचित्य, निर्णय र प्रमाणसहित कागजात राख्नुपर्ने व्यवस्था छ। तर गाउँपालिकाले अधिकांश खर्चमा बिल भर्पाई मात्र संलग्न गरेको र सम्बन्धित निर्णय तथा प्रमाण कागजात नजोडिएको पाइएको छ।

विशेषगरी “विविध खर्च” शीर्षकमा उल्लेखित बजेटमा खर्चको स्पष्ट उद्देश्य उल्लेख नगरी रकम खर्च गरिएकाले सार्वजनिक रकमको पारदर्शिता र जवाफदेहितामा गम्भीर प्रश्न उठेको सरोकारवालाहरूले बताएका छन्। आन्तरिक स्रोतको ४० प्रतिशतभन्दा बढी हिस्सा “विविध खर्च” मा गएकाले खर्चको औचित्य र आवश्यकतामाथि व्यापक शंका उत्पन्न भएको छ।

स्थानीय आर्थिक अनुशासनका दृष्टिले यो प्रवृत्तिले विकास योजना र नागरिक सेवाभन्दा बढी प्रशासनिक र आतिथ्य सत्कार खर्चमा प्राथमिकता दिएको देखिन्छ। सरोकारवालाहरूले खर्च पारदर्शी र औपचारिक कागजातसहित गर्ने अभ्यास अवलम्बन गर्न गाउँपालिकालाई आग्रह गरेका छन्।