+
+
0 Shares

सूचना माग्दा बेवास्ता : सुखीपुर नगरपालिकामा स्थानीयको तालाबन्दी, मेयरमाथि भ्रष्टाचारको आरोप

starkhabar mukesh9801061609
११ महिना अगाडि
2 views

जेठ -१३-सिरहा।
स्टार खबर ।

सिरहाको सुखीपुर नगरपालिकामा संगठित रूपमा भ्रष्टाचार लुकाउने प्रयास गरेको आरोप लागेपछि आक्रोशित स्थानीय बासिन्दाले मंगलबार नगरपालिकामा तालाबन्दी गरेका छन्। सूचना माग्दा पटक–पटक वेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको स्थानीयले बताएका छन्।

सूचना माग समितिका संयोजक तथा युवा नेता मिथुन यादवका अनुसार, स्थानीयले सुचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार पटक–पटक सूचना माग्दा समेत नगरपालिकाले कुनै प्रतिक्रिया नदिएको र आवश्यक विवरण सार्वजनिक नगरेको आरोप छ। यादवले भने, “हामीले नगरपालिकामा भ्रष्टाचार रोक्न सूचना माग गरेका हौँ, तर उनीहरूले उल्टै बेवास्ता गरे। अब सूचना नआएसम्म तालाबन्दी जारी रहन्छ।”

मेयर राम औतार यादवले समूह नै बनाएर नगरपालिकामा संगठित भ्रष्टाचार बढाएको भन्दै आरोप लगाउँदै स्थानीयले एउटै सडक योजनामा दुई पटक कोटेशन देखाएर व्यापक आर्थिक अनियमितता गरेको दाबी गरेका छन्। स्थानीयका अनुसार एउटै सडक योजनामा फरक–फरक मिति र विवरण देखाई दुई पटक कोटेशन प्रक्रियाबाट भ्रष्टाचार गरिएको प्रमाण पनि सार्वजनिक भइसकेको छ।

स्थानीयको माग छ — आ.व. २०८०/८१ को नगरसभाबाट पारित रातो किताव, कार्यपालिका बैठकका निर्णय, ह्याण्डपम्प वितरण विवरण, चालु आर्थिक वर्ष ०८१/८२ का योजना तथा खर्च विवरणलगायत सम्पूर्ण कागजात तत्काल सार्वजनिक गरियोस्।

यसबीच, नगरपालिका प्रशासनले भने घटनाबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

स्थानीयले भने चेतावनी दिएका छन् — “सूचना नदिए नगरपालिकाको प्रशासनिक कक्ष, आर्थिक शाखा र योजना शाखामा तालाबन्दी जारी रहनेछ।”

सुखीपुर नगरपालिकामा हालको यो घटना सुशासन र पारदर्शिताप्रतिको प्रश्न मात्र होइन, भ्रष्टाचार विरुद्धको स्थानीय स्तरमै उठेको बलियो आवाजका रूपमा हेरिएको छ।