+
+
0 Shares

सिरहामा लागुऔषधसहित तीन युवा पक्राउ, हिरोइन र डिजिटल तराजु बरामद

starkhabar mukesh9801061609
१० महिना अगाडि
0 views

सिरहा, १० असार ।
स्टार खबर ।

सिरहाको लहान नगरपालिका–२ मटिअर्वा टोलमा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा तीन जना युवा पक्राउ परेका छन्।

सोमबार साँझ साढे ७ बजे, गोप्य सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सिरहा, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलीले बिवेक यादवको घरमा छापा मारेको हो।

घर खानतलासीका क्रममा कालो प्लास्टिकको सानो पोका भित्र लुकाइछिपाई राखिएको १७.४९ ग्राम खैरो हेरोइन जस्तो देखिने लागुऔषध, एक थान डिजिटल तराजु र मोबाइल फोनहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

पक्राउ पर्नेहरूमा लहान–२ मटिअर्वाका २३ वर्षीय बिवेक यादव, लहान–१ का २० वर्षीय सुरेश कुमार साह सुडी र लहान–२ का २७ वर्षीय राजकुमार विश्वकर्मा रहेका छन्।

प्रहरीले बिवेक यादवको साथबाट दुई थान मोबाइल, सुरेश कुमार साह सुडीको साथबाट १७.४१ ग्राम खैरो हेरोइन र एक थान मोबाइल, तथा राजकुमार विश्वकर्माको साथबाट पनि एक थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिई हिरासतमा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।