+
+
0 Shares

सिरहा कारागार झडप: घाइते १३ कैदी थप उपचारका लागि काठमाडौं रिफर, नाइके नियुक्तिमा विवाद मुख्य कारण

starkhabar Sonu Mishra
९ महिना अगाडि
0 views

सिरहा, ४ साउन।
स्टार खबर ।

सिरहा कारागारमा आइतबार अपराह्न भएको झडपमा घाइते भएका १३ जना कैदीबन्दीलाई थप उपचारको लागि आज काठमाडौं पठाइएको छ। नाइके नियुक्तिको विषयलाई लिएर उत्पन्न विवादपछि भएको झडपमा परेका घाइतेलाई प्रादेशिक अस्पताल सिरहाबाट रिफर गरिएको थियो।

सिरहा कारागार प्रमुख सुबोध महतोका अनुसार, “यहाँका चिकित्सकहरूले सवैजनालाई थप उपचारको लागि सिफारिस गर्नुभएको थियो, त्यसैले सुरक्षा निकायको सल्लाहमा सबैलाई केन्द्रिय कारागार हुँदै उपचारका लागि काठमाडौं पठाइएको हो।”

झडपमा विजय महतो, बरुण महतो, शिव कुमार राम (शिवा), दिपक ठाकुर, जय प्रकाश चौधरी (शिवम्), अन्जनी कुशवाहा (जंगली), रिपेन्द्र झा (छोटु), सन्तोष कुमार सिंह, बैजु दास, मकेश्वर महतो, दिपेन्द्र यादव, जितन साह र सत्यनारायण कारक घाइते भएको कारागार स्रोतले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार, प्रारम्भिक अनुसन्धानमा नाइके नियुक्ति सम्बन्धी विवाद नै झडपको कारण देखिएको छ। “प्रशासन र सुरक्षा निकायको टोली घटनास्थलमा पुगेर आवश्यक सोधपुछ गरिरहेको छ,” उनले भने।

कारागार क्षमताभन्दा झन्डै साढे तीन गुणा बढी कैदीबन्दीको चापमा रहेको छ। यस्तै, अवैध कारोवार र असुली रोक्नका लागि शनिबार बिहान सुरक्षा निकायको संयुक्त टोलीले कारागारभित्र सर्च अपरेसन चलाएको थियो। त्यसको भोलिपल्ट झडप भएको हो।

झडपमा संलग्न कैदीहरुले कारागार प्रशासनमाथि ३५ लाख रुपैयाँ घुस लिएर आफूहरूमाथि आक्रमण गराउन मिलेमतो गरेको गम्भीर आरोप समेत लगाएका छन्।