+
+
0 Shares

सिरहा:उमेर नपुगी भागेका किशोर किशोरीको विषयमा झडप, पाँच जना घाइते

starkhabar Sonu Mishra
८ महिना अगाडि
0 views

भादौ -२ सिरहा।
सोनु मिश्र ।

सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर गाउँमा उमेर नपुगी भागेर ‘प्रेम विवाह’ गरेको भनिएका किशोर र किशोरी पक्षबीच सोमबार दिउँसो दोहोरो झडप हुँदा पाँच जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा प्रेम विवाह गरेकी किशोरीसहित उनकी दिदी, किशोर पक्षबाट बेली भनिने अविरन महतो, उनका छोराहरु जीवन र दिपन रहेको प्रहरीले जनाएको छ ।
कुटपिटमा घाइते भएकाहरुको सिरहा प्रादेशिक अस्पतालमा उपचार गरिएको भएपनि अवस्था गम्भिर रहेकी किशोरीलाई थप उपचारका लागि सोमबार साँझ विराटनगर लगिएको स्थानीय अगुवा दिलिप पासवानले बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानका अनुसार उमेर नपुगी प्रेम विवाह गरेका भनिएका दुवै जनालाई आ–आफ्ना अभिभावकले जिम्मा लिएर लैजाने गरी आइतबार प्रहरीमा सहमति भएको थियो । सहमति बमोजिम केटा पक्षले धिरज महतोलाई बुझेर लगेको भएपनि सोमबार केटी पक्षबाट विवाह गरेकाले घर भित्र्याउनु पर्छ भन्दै महतोको घरमा पुगेपछि विवाद हुँदा झडप भएको हो ।

यस्तो थियो घटना
स्थानीय कारी महतोका छोरा १९ वर्षीय धिरज महतोले गत २१ साउनमा स्थानीय १८ वर्षीया सदा किशोरीलाई लिएर भागेपछि दुवै पक्षबीच पटक–पटक छलफल भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहामा १ भदौ (आइतबार) भएको छलफलमा उमेर नपुगेको कारण दुवै जनालाई अभिभावकको जिम्मा लगाउने निर्णय भएको विष्णुपुर ५ का वडाध्यक्ष जयनाथ महतोले बताए ।
उनका अनुसार प्रहरीमा भएको छलफलको आधारमा दुवैको जन्म दर्ता झिकाएर हेर्दा किशोरीको १८ र केटाको १९ वर्ष रहेको पाइएपछि तत्काललाई दुवैलाई अभिभावकको जिम्मा लगाउने निर्णय भएको हो ।
किशोरीसहित उनका आफन्त केटाको घरमा पुगेर सोमबार दिउँसो जिम्मा लिनुपर्छ भन्दै माग गर्न थालेपछि विवाद बढेको उनले बताए । त्यही क्रममा दोहोरो झडप नै भएपछि किशोरी पक्षले सोमबार दिउँसो चोहर्वा–सिरहा सडकको लक्ष्मीपुर खण्डमा केही घण्टा सडक अबरुद्ध गरेपछि स्थिति थप हुन नदिन जिल्ला प्रहरी कार्यालय सिरहा, गोलबजार र मिर्चैयाबाट समेत थप प्रहरी टोली परिचालन गरिएको थियो ।