+
+
0 Shares

सिरहाको नवराजपुरमा विद्यालयका विद्यार्थीलाई सिनियर डिभिजन NCC तालिम सुरु

starkhabar Sonu Mishra
८ महिना अगाडि
0 views

भादौ -६ सिरहा।
सोनु मिश्र ।

युवा वर्गलाई अनुशासित, नेतृत्वक्षम र राष्ट्रप्रेमी बनाउने लक्ष्यसहित राष्ट्रिय सेवा दल (NCC) तालिम शुक्रबारदेखि सिरहाको नवराजपुर गाउँपालिकामा सुरु गरिएको छ।

श्री रमेश महतो स्मृति माध्यमिक विद्यालय (नवराजपुर–३) र श्री जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालय (नवराजपुर–४) मा गरी ३०/३० जना गरी कुल ६० जना विद्यार्थीलाई सिनियर डिभिजन NCC तालिम दिइने भएको हो।

नेपाल आर्मी अन्तर्गत तैनाथ श्री नन्दाबक्स गणको समन्वयमा सुरु भएको यस तालिममार्फत विद्यार्थीहरुलाई अनुशासन, नेतृत्व, ईमानदारी र राष्ट्रप्रतिको बफादारीता विकसित गराउने उद्देश्य रहेको सैनिक श्रोतले जनाएको छ।
साथै विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यमा स्वयम् सेवकको भूमिका निर्वाह गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको छ।

यसअघि सिरहा जिल्लामा सिनियर डिभिजनतर्फ ७२ जना र जुनियर डिभिजनतर्फ ३६ जना विद्यार्थीले तालिम प्राप्त गरिसकेका छन्। यस आ.व. ०८२/८३ मा जिल्लाभर ६० जना विद्यार्थीलाई सिनियर र ९० जनालाई जुनियर डिभिजन तालिम दिने योजना रहेको राष्ट्रिय सेवा दलले जनाएको छ।