+
+
0 Shares

साथीकै ब्ल्याकमेलपछि डिप्रेशनमा निरञ्जन, न्याय नपाएपछि आत्महत्यासम्म धकेलिएको पीडा

starkhabar Sonu Mishra
८ महिना अगाडि
0 views

सिरहा, १२ भदौ ।
सोनु मिश्र ।

सिरहा नगरपालिका–१५ सुक्चेना बुधौराका २७ वर्षीय निरञ्जन यादव आफ्नै नजिकका साथीबाटै ब्ल्याकमेलमा परेपछि मानसिक तनाव (डिप्रेशन) भोगिरहेका छन्। साथीले चेक चोरी गरी मुद्दा हालेर निरन्तर दबाब सिर्जना गरेपछि उनले न्याय नपाएको र आत्महत्यासम्म धकेलिएको बताउँदै आएका छन्।

निरञ्जन र मिर्चैया नगरपालिका–११ का भोगेन्द्र यादव केही वर्षअघि जनकपुरमा इन्जिनियरिङ अध्ययनको क्रममा कोठासाझा साथी बनेका थिए। परिवारका सदस्यझैं सम्बन्ध बनाएका उनीहरूले पढाइपछि व्यवसाय गर्ने उद्देश्यले संयुक्त रूपमा कन्स्ट्रक्सन कम्पनी खोले।

२०७९/८० मा धनुषाको हाँसपुर नगरपालिकामा करिब ७७ लाखको सडक कालोपत्रे ठेक्का पाए। मौखिक सहमतिअनुसार निरञ्जनले कागजी काम गर्ने र भोगेन्द्रसहित मिर्चैया नगरपालिका–१२ का उपेन्द्र यादवले साइड हेर्ने जिम्मा लिएका थिए। तर, काम सम्पन्न भएपछि गुणस्तरको कारण देखाउँदै पालिकाले भुक्तानीमा ढिलाइ गर्‍यो। अन्ततः रकम आयो तर घाटा भयो।

त्यसपछि पनि सप्तरीमा अर्को काम पाए। धनुषाको घाटा पूर्ति गर्ने उद्देश्यले गरिएको उक्त काममा अनुभव नहुँदा फेरि घाटा भयो। यता, निरञ्जनले भोगेन्द्रलाई सामान किन्न प्रयोग गर्नका लागि दिएका ७ वटा चेकमध्ये केही साथीहरूले दुरुपयोग गर्दै चेक बाउन्स मुद्दा हालिदिए।

उपेन्द्रले ४५ लाख र भोगेन्द्रले ३५ लाखको चेक बाउन्स गराएपछि निरञ्जनलाई नलिएको रकमसमेत तिर्न दबाब सिर्जना गरियो। समाजका अगुवासहित भएको छलफलमा निरञ्जनले केही रकम बुझाउन सहमति जनाए पनि साथीहरूले निरन्तर ब्ल्याकमेल गर्दै थप रकम माग्दै आएका छन्।

“साथीले नै यसरी धोका दिन्छ भनेर कहिल्यै सोचेको थिइनँ। प्रमाण हुँदाहुँदै पनि प्रहरी उनीहरूसँग मिलेर अन्याय गर्छ। न्याय नपाउँदा आत्महत्या गर्ने अवस्थामा पुगेको छु,” निरञ्जनको पीडा छ।

तर, भोगेन्द्रले भने आफूलाई ठगिएको आरोप लगाएका छन्। “म साइडमा काम गराएँ, नाफा भयो। तर निरञ्जनले पैसा दिएन। त्यसैले कानुनी बाटो समातेको हुँ,” उनले भने।

एकातिर निरञ्जन न्यायको खोजीमा निराश छन् भने अर्कोतिर साथीहरू कानुनी प्रक्रिया अगाडि बढाइरहेका छन्। विवादकै बीच निरञ्जन अझै मानसिक तनावमा छटपटाइरहेका छन्।