+
+
0 Shares

उपाध्यक्ष–अध्यक्षबीचको विवादले विष्णुपुर गाउँसभा अवरुद्ध, कर्मचारी दशैंमै तलबविहीन

starkhabar Sonu Mishra
७ महिना अगाडि
0 views

असोज -९ सिरहा।
सोनु मिश्र।

सिरहाको बिष्णुपुर गाउँपालिकामा उपाध्यक्ष–अध्यक्षबीचको विवादले विष्णुपुर गाउँसभा अवरुद्ध भएको कारण कर्मचारीहरु दशैंमै तलबविहीन भएको छ।

दशैं–तिहार जस्तो ठूलो पर्व शुरु भएको भएपनि सिरहाको विष्णुपुर गाउँपालिकाका कर्मचारीहरू आर्थिक संकटमा परेका छन्। गाउँसभा नबसेपछि खाता सञ्चालन रोकिएको र असार मसान्तयता तलब नपाउँदा उनीहरूलाई उत्सवभन्दा बढी चिन्ता थपिएको छ।

गाउँपालिकाको उपाध्यक्ष गीता कुमारी सिंहले आफूलाई व्यक्तिगत रूपमा रु. २ करोड ५० लाखको बजेट आवश्यक रहेको अडान राखेकी छिन्। साथै हाल पालिकाको कार्यालय निजी व्यक्तिको घरमा भाडामा चलिरहेको हुँदा आगामी वर्ष पनि सोही घरमै सम्झौता गरेर कार्यालय सञ्चालन गर्नुपर्ने माग उनको छ। सिंहले माग पूरा नभएसम्म गाउँसभामा सहभागी नहुने भन्दै स्पष्ट चेतावनी दिएकी छीन्।

तर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवको भनाइ फरक छ। उनका अनुसार पालिकाले स्रोत साधनलाई नीतिगत ढंगले विनियोजन गरेको छ र उपाध्यक्षलाई समेत आवश्यक बजेट छुट्याइएको छ। तर, “उपाध्यक्ष सिंहले आफूलाई अनुकूल हुने गरी २ करोड ५० लाख र कार्यालयलाई भाडामै राख्ने अडान गर्दा गाउँसभा हुन सकेको छैन,”भनी अध्यक्ष यादवले बताए।
तर यही बिषयमा उपाध्यक्ष सिह संग बुझ्दा सम्पर्क हुन सकेन।
गाउँसभा नहुनुका प्रत्यक्ष भुक्तभोगी भने कर्मचारी बनेका छन्। असार मसान्तयता तलब नपाएको कारण उनीहरू दशैं–तिहारमा समेत समस्यामा परेका छन्। “तलब रोकिनु भनेको हाम्रो दैनिक जीवन नै अस्तव्यस्त हुनु हो,” एक कर्मचारीले गुनासो गर्दै भने, “दशैंमा घरमा ऋण तिर्नुपर्ने, बच्चाको खर्च धान्नुपर्ने बेला हो। तर खाता नै सञ्चालन नहुँदा हामी अप्ठ्यारोमा छौं।”

स्थानीय बासिन्दा पनि पालिकाको यस आन्तरिक विवादबाट प्रभावित भएका छन्। पालिकाले गर्ने विकास योजनाहरू अड्किएका छन् भने सडक, शिक्षा, स्वास्थ्य जस्ता सेवा–सुविधा समेत प्रभावित भएको उनीहरूको गुनासो छ।

विवाद केवल उपाध्यक्ष र अध्यक्षबीचको शक्ति–प्रदर्शनमा सीमित रहे पालिकाको विकास र कर्मचारी–नागरिकको भलोमा प्रत्यक्ष असर पर्ने देखिन्छ। पालिकासँग आफ्नै भवन रहे पनि बारम्बार भाडामा कार्यालय सञ्चालन गर्ने निर्णयले प्रश्न उठाएको छ। यसले पालिकाको पारदर्शिता, निर्णय–प्रक्रिया र नेतृत्व क्षमतामाथि शंका बढाएको छ।
राजनीतिक अडानले गाउँसभा अवरुद्ध हुँदा न नीति निर्माण भइरहेको छ, न बजेट खर्च। नतिजा भने जनताले भोगिरहेका छन्।

विष्णुपुर गाउँपालिकाको समस्या केवल बजेट र भाडा विवाद होइन, यसले देखाएको सन्देश नेतृत्वबीचको विश्वासघात र संस्थागत कमजोरी हो। उपाध्यक्षको व्यक्तिगत माग र अध्यक्षको नीतिगत तर्कबीच समाधान नभएसम्म कर्मचारी दशैं–तिहारमै तलबविहीन हुने मात्र होइन, विकासका काम ठप्प हुने निश्चित छ।