+
+
0 Shares

सिरहा: नेपाली सेनाद्वारा दहिपौडीमा बृहत् सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

starkhabar Sonu Mishra
४ महिना अगाडि
1 views

मंसिर २१-सिरहा।
सोनु मिश्र।

नेपाली सेनाको श्री नं. २७ वाहिनी अड्डा, चोहर्वा व्यारेक, सिरहाले नागरिक–सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सिरहा जिल्लाको सुखिपुर नगरपालिका–१०, दहिपौडीस्थित श्री जनता माध्यमिक विद्यालयमा बृहत् सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

“नागरिक सहयोग सेवा” कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्यअन्तर्गत श्री नं. २७ वाहिनी अड्डाको संयोजनमा, प्र.से. समिर श्रेष्ठको कमान्डमा १/४४ को टोलीसहित स्वास्थ्य सेवासम्बन्धी विभिन्न संस्थाको सहकार्यमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्मका चिकित्सक, श्री सगरमाथा चौधरी आँखा अस्पताल, प्रादेशिक अस्पताल सिरहा, लहान, फुलकमारी महतो मेमोरियल अस्पताल, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र लहान, NCC अलुमनाइ एशोसिएसन नेपाल तथा हिमालय सुगर मिल लि. को सक्रिय सहभागिता रहेको थियो।

मिति २०८२/०८/२० गते बिहान १० बजे देखि साँझ ४ बजे सम्म सञ्चालन भएको शिविरमा सर्पदंश, भर्ना छनोट, शीतलहर, आगलागी जस्ता दैविक प्रकोपसम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै आँखासम्बन्धी, दाँत, छाला, प्रसूति तथा General OPD सेवासहित रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

शिविरमार्फत महिला २१६ र पुरुष २४४ गरी जम्मा ४६० जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्। स्थानीय बिपन्न समुदायलाई लक्षित गरी गरिएको यो पहलले समुदायमा सेनाप्रति विश्वास, पहुँच र सकारात्मक सोच अभिवृद्धि गर्न मद्दत पुगेको जनाइएको छ।

स्वास्थ्य शिविरको अवलोकन तथा निरीक्षण गर्न सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू तथा श्री नं. २७ वाहिनी अड्डाका वाहिनीपति स.र. नारायण बहादुर थापा दहिपौडी पुगेका थिए।

नेपाली सेनाद्वारा सञ्चालन गरिएको यस प्रकारको स्वास्थ्य सेवा तथा जनसचेतना कार्यक्रमले विकट क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको स्थानीयवासीहरूले बताएका छन्।