+
+
0 Shares

सिरहा:हिमालय सुगर मिल्स नरहामा डोंगा पूजा सम्पन्न

starkhabar Sonu Mishra
४ महिना अगाडि
1 views

मंसिर २३-सिरहा।
सोनु मिश्र।

सिरहाको नरहा गाउँपालिका–२,३ चन्द्रअयोध्यापुरस्थित हिमालय सुगर मिल्स लिमिटेडमा सोमबार परम्परागत विधिअनुसार डोंगा पूजा सम्पन्न भएको छ।
हरेक वर्ष उखु क्रसिङ सिजन सुरू हुनु अघि गरिने यो पूजाले यस वर्षको क्रसिङ सिजन २०८२/०८३ को औपचारिक सुरुवात गरेको हो।

मिल सञ्चालन, उत्पादन सुरक्षा र सफल सिजनको शुभसंकेतको रूपमा मनाइने डोंगा पूजालाई अत्यन्तै महत्वपूर्ण मानिन्छ। “डोंगा पूजा बिना मिल सञ्चालन हुँदैन, यसलाई शुभ आरम्भ र सफल उत्पादन चक्रको प्रतीकका रूपमा लिइन्छ,” हिमालय सुगर मिल्सका उखु महाप्रबन्धक (प्रशासन) अभद किशोर यादवले बताए।

यस सुगर मिलसँग सिरहा, धनुषा र सप्तरी गरी करिब ९ हजार ३ सय ३२ किसान आवद्ध रहेका छन्। मिलको वार्षिक प्रशोधन क्षमता २५ लाख क्विन्टल भए पनि हाल उत्पादन ३ लाख ५० हजार क्विन्टलबाट बढ्दै १५ लाख क्विन्टलसम्म पुगेको यादवले जानकारी दिए। यस वर्ष किसान सहभागिता र उत्पादन क्षमता दुवै थप बढ्ने अपेक्षा गरिएको छ।

डोंगा पूजा कार्यक्रम मिलका इ.डी. सरेश सराफको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा नरहा गाउँपालिकाका अध्यक्ष राम प्रमोद यादव प्रमुख अतिथि तथा मिर्चैया नगरपालिकाका प्रमुख श्रवण कुमार यादव विशिष्ट अतिथि थिए। त्यस्तै श्री नान्दा बकस गण चोहर्वाको प्रमुख समीर श्रेष्ठ लगायत नरहा गाउँपालिकाकी उपाध्यक्ष गुलाब देवी चौधरी, उखु उत्पादक किसान संघका अध्यक्ष अमरनाथ यादव, कोषाध्यक्ष रामनारायण यादव, सचिव रामपुकार कामती सहित तीनै जिल्लाका सयौँ किसानहरूको उत्साहपूर्ण सहभागिता थियो।

कार्यक्रममा गत वर्ष सबैभन्दा बढी उखु आपूर्ति गर्ने किसानलाई प्रथम, द्वितीय र तृतीय पुरस्कारसहित प्रमाणपत्र र बलाईकेतले सम्मानित गरिएको थियो। साथै उखु ढुवानीमा प्रयोग हुने ताँइर (गारी) तथा गोरूलाई विशेष पूजा गरिनुका साथै किसान र मजदुरलाई गम्छा, अबिर र फुलमालाले स्वागत तथा सम्मान गरिएको थियो।

डोंगा पूजालाई धार्मिक संस्कारभन्दा पनि किसान, उद्योग र समुदायबीचको सहकार्य बलियो पार्ने परम्पराको रूपमा लिइन्छ। आगामी वर्षहरूमा उखु उत्पादन, प्रशोधन तथा किसानमुखी कार्यक्रमलाई अझ विस्तार र प्रभावकारी बनाउन मिल प्रशासनले प्रतिबद्धता व्यक्त गरेको छ।