+
+
0 Shares

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ जना प्रहरी हिरासतमा

starkhabar Sonu Mishra
२ महिना अगाडि
3 views

माघ-२६-सिरहा।
स्टार खबर।

जिल्ला सुरक्षा समितिले सोमबार गरेको अनुगमनका क्रममा सिरहा सदरमुकामस्थित कारागारभित्रबाट एक थान बन्दुक र दुई राउन्ड गोली बरामद भएको छ। अनुगमन टोलीले कारागार परिसरभित्रै हतियार भेटेपछि तत्काल अपरेसन चलाउँदै नाइके इन्द्रजित यादवसहित १३ जनालाई कारागारबाट निकालेर प्रहरी हिरासतमा राखेको छ।


अनुगमनका क्रममा चुरोट, सुर्तीलगायतका प्रतिबन्धित सामग्रीसमेत बरामद गरिएको प्रशासनले जनाएको छ। बरामद सामग्री र हतियार कारागारभित्र कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ।


सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले घटनापछि सुरक्षाको दृष्टिले सम्बन्धित व्यक्तिहरूलाई कारागारबाट झिकेर हिरासतमा राखिएको जानकारी दिए। “हामीले १३ जनालाई नियन्त्रणमा लिएका छौं। उनीहरूलाई अन्य कारागारमा पठाउने तयारी भइरहेको छ,” उनले भने। उनका अनुसार बरामद हतियारको स्रोत, भित्र्याउने तरिका र सम्भावित संलग्नता पहिचान गर्न विस्तृत छानबिन अघि बढाइएको छ।


कारागारभित्र लामो समयदेखि विभिन्न अवैध गतिविधि हुने गरेको गुनासो बाहिरिँदै आएको थियो। प्रहरी प्रशासनकै मिलेमतोमा मदिरादेखि लागुऔषधसम्मको कारोबार हुने, मोबाइल फोनको प्रयोग र चन्दाका नाममा असुली चल्ने गरेको आरोप यसअघि पनि लाग्दै आएको थियो।


गत वर्ष यिनै विषयमा प्रमाणसहित सार्वजनिक भएको समाचारपछि नेपाल प्रहरीका डीएसपीको कमान्डमा छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले करिब ९० पृष्ठ लामो अनुसन्धान प्रतिवेदन तयार पारेर जिल्ला सुरक्षा समितिसमक्ष बुझाएको थियो। तर, प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको भन्दै प्रशासन आलोचित बन्दै आएको थियो।


सोमबारको अनुगमन र बरामदलाई त्यसैको निरन्तरताका रूपमा हेरिएको छ। सुरक्षा स्रोतका अनुसार पछिल्लो कदमले कारागारभित्रको अवस्थाबारे थप तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ।
यता, स्थानीय तह र अधिकारकर्मीहरूले कारागारभित्र हतियार भेटिनु गम्भीर सुरक्षा चुनौती भएको टिप्पणी गरेका छन्। उनीहरूले जिम्मेवार निकायबाट पारदर्शी छानबिन र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन्।
प्रशासनले भने घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने जनाएको छ। अहिले कारागार क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।