+
+
0 Shares

सिरहामा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको थप परिचालन

starkhabar Sonu Mishra
२ महिना अगाडि
2 views

फाल्गुन -४ सिरहा।
स्टार खबर।

आगामी फाल्गुन २१ गते सम्पन्न हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सिरहा जिल्लामा सुरक्षा व्यवस्था थप सुदृढ पारिएको छ। यसै क्रममा माघ २१ गतेदेखि नेपाली सेना परिचालन भई सुरक्षा गतिविधि सञ्चालन हुँदै आएको थियो।

परिचालनपश्चात् नेपाली सेनाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग घनिष्ठ समन्वय र सहकार्य गर्दै संयुक्त गस्ती (Patrol), चेकप्वाइन्ट स्थापना तथा सर्वसाधारणलाई लक्षित सुरक्षा जनचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

यस संयुक्त प्रयासले निर्वाचनको वातावरणलाई अझ सुरक्षित, विश्वसनीय र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको सुरक्षा निकायको भनाइ छ।


निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन अन्यत्रबाट थप फौजको आगमन भएसँगै फाल्गुन ४ गतेदेखि सिरहा जिल्लाका विभिन्न १९ स्थानहरूमा नेपाली सेना थप परिचालन गरिएको छ।
यस कदमबाट जिल्लाभित्र रहेका सबै मतदान स्थलहरूमा नेपाली सेनाको पहुँच छिटो र सहज हुने विश्वास लिइएको छ।


नेपाली सेनाले ती स्थानहरूबाट निर्वाचन अवधिभर थप सुरक्षात्मक कारबाही सञ्चालन गर्ने जनाउँदै निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई संयमित रहन तथा आवश्यक सहयोग गर्न आह्वान गरेको छ।