+
+
0 Shares

राष्ट्रिय समाचार समिति( रासस) लहानको ६५औँ वार्षिकोत्सव: निर्वाचनमा निष्पक्ष पत्रकारिताको भूमिकामा जोड

starkhabar Sonu Mishra
२ महिना अगाडि
0 views

फाल्गुन-६ सिरहा।
स्टार खबर।

सिरहाको लहानस्थित रासस जिल्ला कार्यालयले बुधबार आफ्नो ६५औँ वार्षिकोत्सव प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै मनाएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै “निर्वाचन आचारसंहिता र सञ्चारमाध्यमको भूमिका” विषयमा आयोजना गरिएको कार्यक्रममा लोकतन्त्रको सुदृढीकरणका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सिरहाका मुख्य निर्वाचन अधिकृत डा. प्रकाश उप्रेतीले निर्वाचनको समयमा पत्रकारको भूमिका अझ जिम्मेवार र संवेदनशील हुने उल्लेख गर्दै निष्पक्ष, तथ्यमा आधारित र आचारसंहिता पालना गरिएका समाचारले मात्र स्वच्छ र विश्वसनीय निर्वाचन सम्भव हुने धारणा राखे।

कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, निर्वाचन कार्यालय, नेपाल पत्रकार महासंघका प्रतिनिधि तथा वरिष्ठ पत्रकारहरूले सञ्चारमाध्यमले कुनै दल वा उम्मेदवारको पक्षपोषण नगरी तटस्थ र व्यावसायिक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

वक्ताहरूले राससले विगत पाँच दशकभन्दा बढी समयदेखि देशभर विश्वसनीय समाचार सेवा प्रदान गर्दै आएको र विशेषगरी सिरहा तथा मधेश प्रदेशका स्थानीय, सामाजिक, आर्थिक र राजनीतिक गतिविधि नियमित रूपमा प्रवाह गर्दै आएको योगदानको प्रशंसा गरेका थिए।