+
+
0 Shares

सिराहामा संयुक्त सुरक्षा कारबाही सम्पन्न,सीमा क्षेत्रदेखि बजारसम्म सघन गस्ती र विशेष अभ्यास

starkhabar Sonu Mishra
१ महिना अगाडि
1 views

फागुन १६ सिरहा।
सोनु मिश्रा।

सिराहा जिल्लाको समग्र सुरक्षा व्यवस्था थप सुदृढ बनाउने उद्देश्यले नेपाली सेना अन्तर्गतको नन्दबक्स गणको नेतृत्वमा आज जिल्लाभर वृहद् संयुक्त सुरक्षा कारबाही सम्पन्न भएको छ।

जिल्लाको संवेदनशीलतालाई ध्यानमा राख्दै बिहान ०७:०० देखि १०:०० बजेसम्म सञ्चालन गरिएको यस कारबाहीमा नेपाली सेना, स्थानीय प्रशासन, नेपाल प्रहरी (जनपद) तथा सशस्त्र प्रहरी बलको एकीकृत सहभागिता रहेको थियो।

कारबाहीका क्रममा जिल्लाका चारवटै सुरक्षा क्षेत्रमा रहेका निर्वाचन स्थल र संवेदनशील केन्द्रलाई लक्षित गर्दै ५७ वटा संयुक्त गस्ती एकैसाथ परिचालन गरिएका थिए।

सुरक्षा गस्तीले ८ नगरपालिका र ९ गाउँपालिका गरी जिल्लाका १७ वटै स्थानीय तहलाई समेटेको थियो।
पैदल गस्ती: सीमावर्ती गाउँ, दशगजा क्षेत्र र भित्री बस्तीहरूमा सूक्ष्म सुरक्षा निगरानी
सवारी गस्ती: मुख्य राजमार्ग, सीमा नाका जोड्ने सडक तथा बजार क्षेत्र
मोटरसाइकल गस्ती: दुर्गम सीमा क्षेत्र र छिटो आवागमन आवश्यक पर्ने स्थानहरू
यसै क्रममा नन्दबक्स गणले भीड नियन्त्रण, आकस्मिक अवस्था र सम्भावित सुरक्षा जोखिम सामना सम्बन्धी एक विशेष प्रदर्शन अभ्यास पनि सफलतापूर्वक सम्पन्न गरेको छ।


अभ्यासले आपतकालीन अवस्थामा सुरक्षा निकायको तयारी र समन्वय क्षमता प्रत्यक्ष रूपमा देखाएको जनाइएको छ।
लहान, धनगढीमाई, सिराहा, गोलबजार, मिर्चैया, कल्याणपुर, कर्जन्हा, सुखीपुर नगरपालिका तथा भगवानपुर, बरियारपट्टी, औरही, अर्नमा, नवराजपुर लगायत स्थानीय तहका संवेदनशील क्षेत्रहरूमा सुरक्षा उपस्थिति थप बलियो बनाइएको छ।
“यस किसिमको संयुक्त अभ्यास र परिचालनले सुरक्षा निकायहरूबीचको समन्वय, क्षमता र मनोबल वृद्धि हुने विश्वास लिएका छौं,” नन्दबक्स गणसम्बद्ध स्रोतले जनाएको छ।
नेपाली सेनाको सक्रिय नेतृत्वमा सम्पन्न संयुक्त परिचालनले सिराहाका स्थानीय बासिन्दामा सुरक्षाप्रतिको भरोसा र मनोबल बढाउनुका साथै सीमा क्षेत्रमा सतर्कता थप कसिलो बनाएको सरोकारवालाहरूको भनाइ छ।