+
+
0 Shares

धनुषा :अनलाइन पत्रकारिताको गुणस्तर सुधार्न मधेसमा दुईदिने तालिम सम्पन्न

starkhabar Sonu Mishra
५ दिन अगाडि
2329 views

चैत्र-२६ धनुषा।
बिनिता यादव।

अनलाइन पत्रकारिताको प्रभाव तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा त्यसको गुणस्तर र विश्वसनीयता सुनिश्चित गर्ने उद्देश्यले आमसञ्चार प्राधिकरणले मधेस प्रदेशका सञ्चारकर्मीहरूका लागि दुईदिने विशेष तालिम आयोजना गरेको छ।

ढल्केवरस्थित कोमल होटेलमा सम्पन्न उक्त तालिममा मधेस प्रदेशका आठवटै जिल्लाबाट करिब ६० जना पत्रकारहरूको सहभागिता रहेको थियो।

तालिमका क्रममा सहभागीहरूले समाचार लेखन, सम्पादन, आकर्षक शीर्षक निर्माण तथा डिजिटल प्लेटफर्ममा विश्वसनीयता कायम गर्ने विषयमा व्यावहारिक ज्ञान हासिल गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै महेश यादव ले सञ्चारमाध्यमलाई समाजको ऐना भएको उल्लेख गर्दै सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे। उनले जिम्मेवार पत्रकारिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

तालिममा धर्मेन्द्र झा र कृष्ण अधिकारीले सहजीकरण गर्दै व्यावहारिक अभ्याससहित प्रशिक्षण दिएका थिए। प्रशिक्षकहरूको प्रभावकारी शैलीले सहभागीहरूलाई सिकाइमा सहजता पुगेको प्रतिक्रिया सहभागीहरूले दिएका छन्।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले यस्ता तालिमले आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

तालिमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
आमसञ्चार प्राधिकरणले यस्ता क्षमता अभिवृद्धि तालिमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।