+
+
0 Shares

सिरहामा “भू.पू. सैनिक सम्मेलन-२०८२” सम्पन्न, ४८० बढी पूर्व सैनिकको सहभागिता

starkhabar Sonu Mishra
१ महिना अगाडि
338 views

बैशाख -३ सिरहा।
सोनु मिश्र।

नेपाली सेनाद्वारा आयोजित “भू.पू. सैनिक सम्मेलन-२०८२” सिरहाको चोहर्वास्थित श्री नन्दाबक्स गण (उप-सम्मेलन केन्द्र) ब्यारेकमा सम्पन्न भएको छ।


“प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन” भन्ने मूल भावसहित आयोजित उक्त सम्मेलनमा सिरहा र सप्तरी जिल्लाका पेन्सनभोगी भू.पू. सैनिक तथा आश्रित परिवारसहित करिब ४८० जनाको सहभागिता रहेको थियो।

बिहीबार बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रम श्री नं. २७ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी नारायण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

सम्मेलनमा भू.पू. सैनिकहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने तथा सामाजिक-आर्थिक सुरक्षासम्बन्धी विविध विषयमा छलफल गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका क्रममा श्री मध्य पूर्वी पृतना मुख्यालयबाट प्रधान सेनापति महारथी अशोक राज सिग्देलले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पूर्व सैनिकहरूको योगदानको उच्च प्रशंसा गरे।

उनले उनीहरूको हक-हित संरक्षण तथा कल्याणकारी कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, अशक्त तथा असहाय भू.पू. सैनिक र आश्रित परिवारलाई ह्वीलचेयर, बैशाखी र ब्लाइन्ड स्टिक लगायतका सहायक सामग्री वितरण गरिएको छ। साथै, सैनिक कल्याणकारी निर्देशनालयमार्फत प्राप्त अन्य सामग्रीहरू पनि हिताधिकारीहरूलाई प्रदान गरिएको जनाइएको छ।
सम्मेलनले भू.पू. सैनिकहरूको समस्या, आवश्यकता र अवसरबारे प्रत्यक्ष संवाद गर्ने प्रभावकारी मञ्चका रूपमा काम गरेको सहभागीहरूले बताएका छन्।

यस्ता कार्यक्रमले पूर्व सैनिकहरूको अनुभव र योगदानलाई समाजसँग जोड्दै राष्ट्रिय एकता तथा सामाजिक सद्भाव प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।