+
+
0 Shares

जबरजस्ती करणी “न्यायको खोजी कि स्वार्थको खेल?”

starkhabar Sonu Mishra
१ महिना अगाडि
633 views

विभिषण कुमार यादव
नेपाल ल क्याम्पसमा
बी.ए.एल.एल.बी.अध्ययनरत
काठमाडौ ,बागबजार ।

नेपालको नीति नियम अचम्मको मन मिलुञ्जेल रमाइलो मननमिल्नु वितिकै जवर्जस्ती करणी!
मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ काे परिच्छेद १८ काे दफा २१९(२) जवर्जस्ती करणी भनेको कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिन्छ। र सो दफाको खण्ड (क),(ख),र (ग) बमोजिम भए गरेको कार्य समेतलाई जवर्जस्ती करणी भए गरेको मानिन्छ र त्यस्ता कार्य गर्नेलाई सोही संहिताको दफा २१९(३)(क),(ख),(ग),(घ),र (ङ) बमोजिमको दण्ड र सजाय समेत गरिन्छ।

मन मिलेको प्रेमिकालाई जवर्जस्ती करणी भन्छन् आफ्नो श्रीमानले श्रीमतीलाई जवर्जस्ती करणी गरेको भन्छन् यो आजको एउटा गम्भीर समस्या देखिँदै आएको छ। जहाँ प्रेम सम्बन्धमा रहेका व्यक्तिहरुबीचको विवादलाई पनि बलात्कारको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएको छ। यस्तै, वैवाहिक सम्बन्धभित्र श्रीमान् – श्रीमतीबीचको व्यक्तिगत र संवेदनशील सम्बन्धलाई पनि सोझै बलात्कार भनेर आरोप लगाउने घटनाहरूले कानूनी र समाजिक दुवै पक्षमा जटिलता सिर्जना गरेको छ।

बलात्कार जस्तो घृणित, अमानवीय र आत्मा नै हल्लाइदिने अपराध गर्ने ती निर्दयी दरिन्दाहरुलाई कुनै पनि प्रकारको सहानुभूति होइन्, कठोर भन्दा पनि कठोर सजाय दिनुपर्छ, किनकि उनीहरूले हाम्रो नाजुक भरोसा, हाम्रो घर – परिवारको इज्जत र हाम्राे छोरी, दिदी – बहिनी तथा आमाको सम्मानलाई निर्दयतापूर्वक नोचेर टुक्रयाउँछन्, उनीहरूको जीवनमा कहिल्यै नमेटिने पीडा, डर र अन्धकार भर्छन्, र यस्तो जघन्य अपराधलाई अन्त्य गर्न तथा समाजमा फेरि कहिल्यै यस्तो पीडादायी घटना नदोहोरियोस् भन्ने सुनिश्चित गर्न कानूनले अत्यन्त कडा, दृढ र उदाहरणीय दण्ड दिनु आजको अपरिहार्य आवश्यकता हो।

जवर्जस्ती करणी यो केवल एउटा अपराध मात्र होइन्, यो मानवताको अस्तित्व माथि गरिने निर्मम आक्रमण पनि हो।यो पीडितको शरीरमात्र होइन्, उसको आत्मा, सपना, आत्मसम्मान र बाँच्ने इच्छामाथि गरिने निर्दयी प्रहार पनि हो। यस्तो जघन्य अपराध गर्ने अपराधीलाई कानूनले कुनै दया, कुनै सहानुभूति, कुनै छुट दिनु हुँदैन्। उसलाई राज्यले कठोर भन्दा कठोर सजाय दिनुपर्छ, यस्तो सजाय, जसले समाजमा डर पैदा गरोस्, जसले फेरि कसैलाई यस्तो अमानवीय सोच ल्याउने हिम्मत नै नहोस्। किनकि जबसम्म अपराधी डराउँदैन, तबसम्म निर्दोष सुरक्षित हुँदैन्।

तर, यसै विषयको अर्को अन्धकार पक्ष पनि छ, झुठो आरोप! केवल कुण्ठा, व्यक्तिगत रिसइबी, लोभ, बदला वा विकृत मानसिकताबाट निर्दोष व्यक्तिमाथि जवर्जस्ती करणी जस्ता संवेदनशील आरोप लगाउनु पनि त्यत्तिकै घृणित, त्यत्तिकै विनाशकारी र त्यत्तिकै अक्षम्य अपराध हो। एउटा निर्दोष मानिसमाथि यस्तो आरोप लाग्नु भनेको उसलाई जिउँदै जलाउनु सरह हो। उसले नगरेको अपराधको भारी बोक्न बाध्य बनाइन्छ, समाजको नजरमा अपराधी बनाइन्छ, र उसको नाम, इज्जत, चरित्र सबैलाई सार्वजनिक रूपमा चिरफार गरिन्छ।

त्यस्तो आरोपले केवल एक व्यक्तिलाई मात्र होइन्,उसको सम्पूर्ण परिवारलाई समेत ध्वस्त बनाइदिन्छ। बुबाआमा लाजले शिर झुकाउन बाध्य हुन्छन्, दाजुभाइ, दिदीबहिनी समाजको तिखो टिप्पणी सहन बाध्य हुन्छन्, श्रीमान् – श्रीमतीको सम्बन्ध टुट्छ, बालबालिकाको भविष्य अन्धकारमा धकेलिन्छ। एक क्षणको झुठो आरोपले वर्षौंको मेहनत, इमानदारी र चरित्रलाई माटोमा मिलाइदिन्छ। समाजको कठोर न्याय, अपमान र अविश्वासले त्यो निर्दोष व्यक्ति भित्रभित्रै मर्दै जान्छ, सास फेरिरहेको हुन्छ, तर जीवन समाप्त भइसकेको जस्तो हुन्छ। जसले गर्दा उ फेरि जति प्रयास गरे नी समाजको दृष्टिमा राम्रो हुन् सक्दैन्।

न्याय भनेको केवल अपराधीलाई सजाय दिनु मात्र होइन्, न्याय भनेको सत्यको रक्षा गर्नु हो, निर्दोषलाई बचाउनु हो, र गलतलाई कडा रूपमा रोक्नु पनि हो। यदि बलात्कारीलाई सजाय नदिनु अन्याय हो भने, निर्दोषमाथि झुठो आरोप लगाउनेलाई छोड्नु झन् ठूलो अन्याय हो। त्यसैले, जो कसैले आफ्नो व्यक्तिगत स्वार्थ, रिस, बदला वा लोभका कारण यस्तो गम्भीर आरोपको दुरुपयोग गर्छ, उसलाई पनि कानूनको कठघरा भित्र ल्याएर उदाहरणीय कारबाही गरिनुपर्छ। ताकि कसैले पनि न्याय प्रणालीलाई आफ्नो फाइदाको हतियार बनाउने दुस्साहस नगरोस्।

कानून सधैं समान हुनुपर्छ। यो न त धनीको पक्षमा झुक्नुहुन्छ, न त गरिवलाई थिच्नुहुन्छ; न त महिला भनेर पक्षपात गर्नुहुन्छ, न त पुरुष भनेर वेवास्ता गर्नुहुन्छ। कानूनको आँखा केवल सत्यमा केन्द्रित हुनुपर्छ, प्रमाणमा आधारित हुनुपर्छ, र निष्पक्ष रूपमा निर्णय दिनुपर्छ। न्यायको मूल आत्मा नै समानता, सत्यता र निष्पक्षता हो।

हामीले यस्तो समाजको निर्माण गर्नुपर्छ, जहाँ पीडितले निडर भएर न्याय पाओस्, र निर्दोष व्यक्तिले झुठो आरोपको डर बिना सम्मानपूर्वक बाँच्न पाओस्। जहाँ अपराधीलाई कुनै छुट नहोस् र झुठो आरोप लगाउनेलाई पनि कुनै आश्रय नहोस्। जहाँ न्याय केवल शब्दमा मात्र सीमित नभइ व्यवहारमा पनि देखियोस्।

अन्तत; न्यायको रक्षा गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो। जवर्जस्ती करणी जस्तो अपराधप्रति शून्य सहनशीलता हुनुपर्छ, र त्यसैगरी झुठो आरोप जस्तो दुरुपयोगप्रति पनि शून्य सहनशीलता हुनुपर्छ। किनकि जबसम्म दुबै पक्षमा समान रूपमा कठोरता अपनाइँदैन, तबसम्म साँचो न्याय स्थापित हुँदैन्। र जबसम्म साँचो न्याय स्थापित हुँदैन्, तबसम्म समाज सुरक्षित, सभ्य र विश्वासयोग्य बन्न सक्दैन्।