+
+
0 Shares

सिरहामा प्रहरी-लागुऔषध कारोबारीबीच गोली हानाहान, ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

starkhabar Sonu Mishra
३ हप्ता अगाडि
886 views

असार -१९ सिरहा।
सोनु मिश्र।

सिरहाको नवराजपुर गाउँपालिका-५ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा शुक्रबार प्रहरी र लागुऔषध कारोबारी समूहबीच गोली हानाहान भएको छ। घटनामा भारतको मधुवनी जिल्लाका एक लागुऔषध कारोबारी घाइते भएका छन्।

प्राप्त जानकारीअनुसार, सीमावर्ती क्षेत्रमा ठूलो मात्रामा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा कारोबारी समूहले प्रहरीमाथि एक राउन्ड गोली प्रहार गरेको थियो।

आत्मरक्षाका लागि प्रहरीले दुई राउन्ड गोली चलाएकोमा एक गोली भारतको मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा लागेको प्रहरीले जनाएको छ।
घाइते कलामलाई तत्काल उपचारका लागि सिरहास्थित प्रादेशिक अस्पताल लगिएको छ, जहाँ उनको उपचार भइरहेको छ।

घटनापछि सोही समूहका अन्य २-३ जना व्यक्ति फरार भएका छन्। उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

सिरहा प्रहरीका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार पक्राउ परेका अब्दुल कलाम उक्त समूहका मुख्य व्यक्ति हुन्। उनीहरूले भारतबाट नेपालतर्फ व्यावसायिक रूपमा लागुऔषध तस्करी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले पक्राउ परेका कलामको साथबाट १२२ ग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।