+
+
0 Shares

५ लाख रुपैयाँ घुस लिँदै आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल अख्तियारको फन्दामा

starkhabar Sonu Mishra
४ दिन अगाडि
1220 views

साउन- ७ सिरहा।
स्टार खबर।

आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले कार्यालय परिसरमै घुस बुझ्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।

स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा कर अधिकृत पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राई लगायत अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै सुरुवातमै ५ लाख रुपैयाँ घुस मागेका थिए। घुस दिएपछि मात्र अडिट प्रक्रिया सहज बनाइने भन्दै कम्पनीसँग आवश्यक सम्पूर्ण कागजात पेस गराइएको आरोप छ।

अडिटका क्रममा कार्यालयले कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ कर दायित्व देखाएको थियो। कम्पनीले थप कागजात पेस गर्दै जाँदा दोस्रो चरणमा थप ३० देखि ३५ लाख रुपैयाँ सम्म कर दायित्व बढ्न सक्ने जानकारी दिइएको स्रोतले जनाएको छ।

यही क्रममा कर अधिकृत पालले १२ लाख रुपैयाँ दिए सबै समस्या समाधान गरिदिने प्रस्ताव राखेको र कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि अन्ततः रकम घटाएर ५ लाख रुपैयाँ मा सहमति गर्न खोजिएको आरोप छ।

घुस बुझ्ने योजनाअनुसार कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो १ बजेदेखि २ बजेसम्म प्रतिक्षामा राखिएको थियो। साँझ ६:५६ बजे पालले फोन गरी आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिएका थिए। त्यसपछि पुनः सम्पर्क गर्दै सोही दिन नभई भोलिपल्ट बिहान ९ देखि १० बजेको बीचमा भेट्ने भन्दै एक बिचौलियाको नम्बर पठाएका थिए।
बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन आग्रह गरेपछि अन्ततः पालले रकम कार्यालयमै ल्याउन निर्देशन दिएका थिए। सोही क्रममा कार्यालयमै ५ लाख रुपैयाँ घुस बुझ्दै गर्दा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङ ले कर अधिकृत पाललाई घुससहित पक्राउ गरिएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।