+
+
0 Shares

कुखुरा पालक किसानका समस्या समाधानका लागि पहल गर्दै सांसद तपेश्वर यादव

starkhabar Sonu Mishra
३ दिन अगाडि
661 views

भादौ-९ सिरहा।
स्टार खबर।

कुखुरा पालक किसानले दाना तथा चल्लाको बढ्दो मूल्य, उत्पादन लागत वृद्धि, रोगको जोखिम, बजारको अस्थिरता र बिचौलियाको समस्याका कारण कठिनाइ भोग्दै आएका छन्। उत्पादनको उचित मूल्य नपाउँदा किसान थप मारमा परेको गुनासो छ।

यी समस्या समाधानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश सभापति तथा सिरहा–४ का सांसद इ. तपेश्वर यादवले पहल थालेका छन्। उनले किसानका वास्तविक समस्या सम्बन्धित मन्त्री तथा सरकारी निकायसमक्ष पुर्‍याउँदै समाधानका लागि समन्वय गरिरहेका छन्।

किसानका समस्या समाधान गर्न कृषि, उद्योग तथा गृह मन्त्रालयका मन्त्रीलाई एउटै ठाउँमा राखेर प्रत्यक्ष छलफल गर्नुपर्नेमा यादवले जोड दिएका छन्। सहुलियतपूर्ण ऋण, प्रभावकारी बीमा, रोग नियन्त्रण तथा खोप, गुणस्तरीय दाना–चल्ला, बजार व्यवस्थापन र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न मन्त्रालयबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ।

यादवले किसानको लगानी सुरक्षित गर्दै कृषि क्षेत्रलाई व्यवस्थित र आत्मनिर्भर बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन्। किसानका समस्या सुन्नेमात्र नभई समाधान निकाल्ने गरी सरोकारवाला निकायलाई एउटै ठाउँमा ल्याउनुपर्नेमा उनले जोड दिएका छन्।