+
+
0 Shares

सिरहा:च.मा.बी.का प्रधानाध्यापक नियुक्तिमा नगरपालिकाको हस्तक्षेप, मेयरका नातेदारलाई जिम्मेवारी दिन चलखेलको आरोप

starkhabar Sonu Mishra
२ दिन अगाडि
1092 views

भदौ-१०सिरहा।
स्टार खबर।

सिरहा नगरपालिकामा प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। स्वास्थ्य अवस्थाका कारण प्रधानाध्यापक काशिन्द्र यादवले पदबाट राजीनामा दिएपछि विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गर्ने क्रममा नगरपालिकाले प्रक्रिया मिचेको आरोप लागेको हो।

काशिन्द्र यादवले भदौ २ गते प्रधानाध्यापक पदबाट राजीनामा दिएपछि मर्यादाक्रम अनुसार कृष्णप्रसाद न्यौपानेलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको थियो। त्यसपछि वरिष्ठताको आधारमा हरि नारायण यादव प्रधानाध्यापक बन्ने लाइनमा थिए।
तर, कृष्णप्रसाद न्यौपानेको अवकाश हुन ६ महिनाभन्दा कम अवधि बाँकी रहेकाले उनलाई प्रधानाध्यापक बनाउन नमिल्ने अवस्था रहेको एकजना शिक्षकले बताए। उनले भने, ´त्यसपछि हरि नारायण यादव प्रधानाध्यापक बन्ने सम्भावना बलियो थियो।तर,बरियता क्रममा नै नपर्ने शिक्षक जितेन्द्र प्रसाद यादवले हरि नारायण यादवलाई आफूलाई प्रधानाध्यापक बनाउन सहयोग गर्न दबाब दिएको थियो। दबाब संगै जितेन्द्रले आफू प्रधानाध्यापक बन्ने दाबी समेत गरेको जनाइएको छ।प्रधानाध्यापक बनाउन सहमति नजनाएपछि सरुवा गरिदिने धम्कीसमेत दिएको शिक्षक हरि नारायण यादवले जनाए।
घटनाक्रम अनुसार भदौ ३ गते नगर शिक्षा शाखामार्फत जितेन्द्र यादवको सरुवा गरिएको र भदौ ४ गते हरि नारायण यादवलाई रमाना बुझ्न दबाब दिइएको आरोप छ। त्यसपछि भदौ ८ गते कृष्णप्रसाद न्यौपानेलाई समेत दबाब दिई जितेन्द्र प्रसाद यादवलाई प्रधानाध्यापक नियुक्त गर्न जनप्रतिनिधिले दबाब दिएको स्रोतले जनाएको छ।

प्रधानाध्यापक नियुक्तिमा नगरप्रमुख डा. नवीनकुमार यादवको प्रत्यक्ष दबाब र स्वार्थ रहेको आरोपसमेत लगाइएको छ। जितेन्द्र प्रसाद यादव नगरप्रमुखका नातेदार हुन।उनलाई प्रधानाध्यापक बनाउन हतारहतारमा प्रक्रिया अघि बढाइ प्रक्रिया मिचेको आरोप छ।
एकहप्ता भित्र सो बिद्यालयबाट तीन जना शिक्षकको सरुवासमेत गरिएको बताइएको छ। नगरप्रमुखको कार्यकालको अन्तिम समयमा विद्यालयजस्तो संवेदनशील क्षेत्रमा आफन्तलाई जिम्मेवारी दिने उद्देश्यले प्रशासनिक हस्तक्षेप गरिएको भन्दै प्रश्न उठेको छ।
यस बिषयमा सिरहा नगरपालिकाका नगरप्रमुख र शिक्षा शाखा प्रमुखसंग सम्पर्क गर्न खोज्दा उनिहरु सम्पर्कमा आउन चाहेनन् ।
शिक्षकको वरिष्ठता, योग्यता, पदस्थापन तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कानुनी प्रक्रिया पालना नगरी राजनीतिक तथा पारिवारिक प्रभावका आधारमा निर्णय गरिएको हो । त्यसले विद्यालयको शैक्षिक वातावरणमा दीर्घकालीन असर पार्न सक्ने अभिभावकहरूको भनाइ छ।