+
+
0 Shares

चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो खिच्दै सांसद बब्लु गुप्ता? भाइरल तस्बिरले उठायो ट्राफिक नियम पालनामाथि प्रश्न

starkhabar Sonu Mishra
३ दिन अगाडि
640 views

साउन -८ सिरहा।
स्टार खबर।

सरकारले पछिल्लो समय ट्राफिक नियमको कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्तासँग सम्बन्धित एक तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यसलाई लिएर व्यापक चर्चा र आलोचना सुरु भएको छ।

सामाजिक सञ्जालमा फैलिएको उक्त तस्बिरमा सांसद गुप्ता चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो खिचिरहेको देखिन्छ। तस्बिर सार्वजनिक भएसँगै सर्वसाधारणले यसलाई ट्राफिक नियमको उल्लङ्घन भएको भन्दै प्रश्न उठाएका छन्।

कतिपयले कानुन निर्माण गर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधिले नै ट्राफिक नियमको पालना गर्नुपर्नेमा त्यसको विपरीत देखिने गतिविधि गर्नु उचित नभएको टिप्पणी गरेका छन्।

यद्यपि, उक्त तस्बिर कहिले, कहाँ र कुन परिस्थितिमा खिचिएको हो भन्ने विषयमा हालसम्म आधिकारिक पुष्टि भएको छैन। तस्बिर सार्वजनिक भएपछि सांसद गुप्ताले यसबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।
यसैगरी, सम्बन्धित ट्राफिक प्रहरी वा अन्य निकायबाट पनि औपचारिक धारणा सार्वजनिक भएको छैन।

तस्बिरको सत्यता, घटनाको वास्तविक अवस्था तथा आवश्यक छानबिनबारे सम्बन्धित पक्षको आधिकारिक जानकारी आउन बाँकी रहेकाले यस विषयमा थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।