+
+
0 Shares

खेतीमै फर्किएका पूर्ववडा अध्यक्ष गोपिन्द्र यादवको उखुबारी हावाहुरीले ढाल्यो

starkhabar Sonu Mishra
४ हप्ता अगाडि
942 views

असोज -९ सिरहा।
सोनु मिश्र।

सिरहाको विष्णुपुर गाउँपालिका-१ मा दुई दिनदेखि लगातार परेको वर्षा र बिहीबार राति आएको हावाहुरीका कारण सिरहाको विष्णुपुर गाउँपालिका-१ गौरीपुरका किसान गोपिन्द्र यादवको उखुबारीमा क्षति पुर्‍याएको छ । उनले करिब दुई बिघा जमिनमा लगाएको उखुबारीमा ठूलो क्षति पुगेको हो ।

यादवले जग्गा भाडामा लिएर करिब तीन बिघा क्षेत्रफलमा उखु खेती गरेका थिए । हावाहुरी र वर्षाका कारण उखुका बोटहरू लडेपछि उत्पादन घट्ने र लगानीसमेत नउठ्ने अवस्था आएको उनले बताएका छन् ।

यादवका अनुसार उखु खेतीमा उनले ऋण तथा सापटी लिएर करिब ४ लाख रुपैयाँ लगानी गरेका थिए । उखु राम्रो उत्पादन भएको भए करिब १० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा थियो । तर हावाहुरी र वर्षाले उखु ढलेपछि अब लगानीसमेत फिर्ता नहुने चिन्ता उनलाई छ ।

‘जसोतसो जग्गा भाडामा लिएर उखु लगाएको थिएँ । राति आएको हावाहुरी र वर्षाले सबै उखु ढालिदियो,’ यादवले भने, ‘अब त लगानी पनि नउठ्ने भयो। खेतीबाटै घरपरिवार चलाउँदै आएको थिएँ, अब परिवार चलाउनै मुस्किल हुने अवस्था आयो ।’

यादव विष्णुपुर गाउँपालिका-१ का पूर्ववडा अध्यक्षसमेत हुन् । निर्वाचनमा पराजित भएपछि उनी अहिले पुन: कृषि कर्ममा फर्किएका छन् ।