+
+
231 Shares

सिरहा:विष्णुपुरमा भव्य विष्णु पूजा महोत्सव, देश-विदेशका पहलवानबीच कुस्ती प्रतियोगिता

starkhabar Sonu Mishra
३ दिन अगाडि
990 views

कार्तिक -२सिरहा।
सोनु मिश्र।

सिरहाको विष्णुपुर गाउँपालिका-१, विष्णुपुर बजारमा प्रत्येक वर्ष कार्तिक १ गते आयोजना हुँदै आएको श्री श्री १०८ श्री विष्णु पूजा महोत्सव यस वर्ष पनि धुमधामका साथ मनाइएको छ।

कार्तिक १ गते भगवान् विष्णुको विधिपूर्वक पूजापाठ गरी महोत्सवको सुरुवात गरिएको हो। धार्मिक आस्था, परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा मनाइँदै आएको यस महोत्सवमा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको छ।
महोत्सवको आकर्षणका रूपमा देश तथा विदेशबाट आएका पहलवानहरूबीच दंगल कुस्ती प्रतियोगितासमेत आयोजना गरिएको छ। कुस्ती हेर्न स्थानीयसहित विभिन्न क्षेत्रबाट आएका दर्शकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

यस महोत्सवलाई सफल बनाउन स्थानीय व्यापारी, व्यवसायी तथा सर्वसाधारणले आ-आफ्नो क्षमताअनुसार चन्दा सहयोग संकलन गरी पूजापाठ तथा अन्य कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

स्थानीयवासीको सामूहिक सहयोग, धार्मिक विश्वास र आपसी सद्भावका कारण विष्णुपुरमा प्रत्येक वर्ष विष्णु पूजा महोत्सव आयोजना हुँदै आएको छ। यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले स्थानीय परम्पराको संरक्षण गर्नुका साथै सामाजिक एकता र भाइचारालाई थप मजबुत बनाउन सहयोग पुर्‍याउँदै आएका छन्।