+
+
153 Shares

सिरहामा सर्पदंश उपचार केन्द्र स्तरोन्नतिको पहल, ICU Ventilator थप्ने तयारी

starkhabar Sonu Mishra
३ हप्ता अगाडि
944 views

असोज-१६ सिरहा।
सोनु मिश्र।

नेपाली सेनाले सिरहामा सञ्चालनमा रहेका सामुदायिक सर्पदंश उपचार केन्द्रहरूको व्यवस्थापन, स्तरोन्नति तथा प्रभावकारी सञ्चालनका विषयमा स्थानीय तहहरुसँग अन्तरक्रिया गरेको छ।

सिरहा चोहर्वा स्थिति रहेको श्री नन्दा बक्स गणको सहजीकरणमा वि.सं. २०८३ असोज १६ गते चोहर्वा र बन्दीपुरस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रको व्यवस्थापन तथा स्तरोन्नतिसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सिरहा जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, निमित्त प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा सर्पदंशका घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न समयमै प्रभावकारी र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने विषयमा छलफल भएको थियो। स्थानीय तह, नेपाली सेना तथा व्यवस्थापन समितिबीच आवश्यक समन्वय र सहकार्य बढाउँदै उपचार केन्द्रको नियमित तथा व्यवस्थित सञ्चालनमा जोड दिइएको छ।

त्यस्तै, सर्पदंशका बिरामीलाई समयमै उपचार केन्द्रसम्म पुर्‍याउने व्यवस्था, आवश्यक जनशक्ति, औषधि तथा उपकरणको उपलब्धता, व्यवस्थापन समिति विस्तार तथा गम्भीर अवस्थाका बिरामीका लागि ICU Ventilator को व्यवस्था गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

नेपाली सेनाका अनुसार स्थापना भएयता चोहर्वा र बन्दीपुरका दुवै केन्द्रबाट २४ सै घण्टा सेवा प्रदान गर्दै करिब १२ हजार जनालाई उपचार सेवा दिइसकिएको छ। चोहर्वा सर्पदंश केन्द्रका समितिका अध्यक्ष विजय महतोका अनुसार ICU Ventilator को सुविधा नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने र उपचारका क्रममा समस्या हुने अवस्था रहेकाले केन्द्रको सेवा थप विस्तार गर्न आवश्यक रहेको छ।

कार्यक्रमले जिल्लाका सामुदायिक सर्पदंश उपचार केन्द्रहरूको क्षमता अभिवृद्धि गर्दै सर्पदंशबाट हुने मृत्यु न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।