+
+
58 Shares

सिरहा:विष्णुपुरमा लगातार मोटरसाइकल चोरी, प्रहरी गस्तीमै उठ्यो गम्भीर प्रश्न

starkhabar Sonu Mishra
३ हप्ता अगाडि
1017 views

असोज-१६ सिरहा।
सोनु मिश्र।

सिरहाको विष्णुपुर गाउँपालिका-१ मा लगातार दुई रात घरआँगनमै पार्किङ गरिएका मोटरसाइकल चोरी भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।

लगातार मोटरसाइकल चोरीका घटना भइरहँदा पनि चोरी नियन्त्रणमा प्रभावकारी कदम नदेखिएको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय विष्णुपुरको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्।

असोज १५ गते राति विष्णुपुर-१ निवासी राजेश कुमार भुजेलको घरआँगनमा पार्किङ गरी राखिएको निलो रङको १२५ सीसी डिस्कभर मोटरसाइकल (स ३ प ५७७२) चोरी भयो।

त्यसको भोलिपल्टै अर्थात् असोज १६ गते राति सोही वडाका किसुन महराको घरआँगनमा पार्किङ गरी राखिएको रातो रङको १६० सीसी अपाचे मोटरसाइकल (म.प्र. ०१–००५ प ७५९६) समेत चोरी भएको छ।

दुई रात, दुई मोटरसाइकल चोरी-तर प्रहरीको गस्ती कहाँ र कस्तो? भन्ने प्रश्न अहिले विष्णुपुरका स्थानीयवासीले उठाउन थालेका छन्।

स्थानीयका अनुसार रातको समयमा विष्णुपुर बजार क्षेत्रमा अपरिचित तथा नयाँ व्यक्तिहरूको आवतजावत हुने गरेको छ। तर शंकास्पद व्यक्तिको पहिचान, निगरानी तथा नियमित चेकजाँच प्रभावकारी हुन नसकेको स्थानीयहरुको गुनासो छ।

लगातार चोरीका घटना भइरहँदा प्रहरीले रात्री गस्तीलाई प्रभावकारी बनाउन नसकेको हो कि चोरीमा संलग्न समूह प्रहरीको निगरानीभन्दा बाहिर छ भन्ने प्रश्नसमेत उठेको छ।

यता, इलाका प्रहरी कार्यालय विष्णुपुरका इन्चार्ज लक्ष्मीप्रसाद यादवले भने प्रहरीले नियमित रूपमा गस्ती गरिरहेको दाबी गरेका छन्। मोटरसाइकल चोरीका घटना कसरी भइरहेका छन् भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।

तर स्थानीयको प्रश्न भने स्पष्ट छ-यदि प्रहरीको गस्ती नियमित र प्रभावकारी छ भने लगातार दुई रात घरआँगनबाटै मोटरसाइकल कसरी चोरी भयो?
चोरीमा संलग्न व्यक्तिको पहिचान गरी चोरी भएका मोटरसाइकल बरामद गर्न तथा रात्री सुरक्षा र गस्ती थप प्रभावकारी बनाउन स्थानीयवासीले प्रहरीसँग माग गरेका छन्।